उपलब्धता  |  साइट सूची   Register
नागरिक   >>   मनोरंजन   >>   अन्य

पाराग्लाइडिङ अल्ट्रालाइट केवलकार

नेपालको सन्दर्भमा पाराग्लाइडिङ एउटा नयाँ साहसिक खेल हो ।एक्लै उडेर आनन्द लिनका लागि पाराग्लाइडिङ सबैभन्दा सहज, सुरक्षित र सस्तो उपाय हो ।पाराग्लाइडिङ गर्दा तपाइले रमणीय हिमालहरूको हवाईदृश्यको रसस्वादन गर्नु हुनेछ ।पोखराको लेकसाइड माथि रहेको १,५९५ मिटर अग्लो सराङकोट डाँडा पाराग्लाइडर जम्प गर्ने मुख्य स्थान हो ।यहाँबाट तपाईले ८,००० मिटर भन्दा अग्ला तीन हिमाल धौलागिरी, अन्नपूर्ण र मनास्लु हिमालहरूको आकर्षक दृश्य देख्नसक्नुहुनेछ ।

पोखराबाट उड्ने अल्ट्रालाइट हवाईजहाजबाट पोखराकका तालहरू, हिमालहरू र गाउँहरूको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।यी हवाईजहाजहरू जीवनलाई नयाँ दृष्टिकोणबाट अवलोकन गर्ने उपयुक्त माध्यम हुन् । वर्षायामका तीन महिना, असार साउन र भदौ बाहेक अरु बेला यी हवाईजहाजहरू सधैं सञ्चालनमा रहन्छन् ।पानी नपरेका दिन यी उडानहरू सूर्योदयदेखि ११ बजे विहानसम्म र मध्याह्ण ३ बजेदेखि सूर्यास्तसम्म प्रत्येक दिन सञ्चालनमा रहन्छ ।आधा घण्टाको उडान समयमा तपाई पोखरा, फेवाताल र सराङकोट डाँडामाथि उड्दै माछापुच्छ्रे हिमालको छेउसम्म पुग्न हुनेछ ।एक घण्टा उड्नु भयो भने त तपाई अन्नपूर्ण श्रृंखलाको १२,००० फिट वा त्यो भन्दा माथि पनि पुग्नुहुनेछ ।

नेपालको एउटै मात्र केवलकार चढेर तपाई आफ्ना सबै इच्छा पु¥याइदिने मनकामनादेवीको मन्दिरको धार्मिक यात्रा गर्न सक्नुहुन्छ ।यो केवलकार मुग्लिङको कुरिनटारबाट गोरखाको मनकामनासम्म सञ्चालनमा रहेको छ ।

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : ०४/०७/२०१४