Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

बाढीपहिरोको जोखिम: बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि ४ दिन रात्रिकालीन सवारीमा रोक

धुलिखेल। लगातारको भारी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि चार दिनसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। ​मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेको बैठकले असोज ८ गते (बिहीबार) देखि असोज ११ गते (आइतबार) सम्म दैनिक बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। ​मौसम पूर्वानुमानअनुसार यी चार दिन ठूलो वर्षा हुने सम्भावना रहेकाले सम्भावित क्षति न्यूनीकरणका लागि यो कदम चालिएको प्रशासनले जनाएको छ। ​ निर्णयहरू: ​सवारी समयसीमा: असोज ८ देखि ११ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन नपाइने। ​दिउँसोको यात्रा: वर्षा र बाढीको स्थिति हेरेर दिउँसो पनि गाडी रोक्नुपर्ने अवस्था आएमा जिल्ला प्रहरी कार्यालय काभ्रेले तत्काल निर्णय लिने। ​छिमेकी जिल्लासँग समन्वय: निर्णय कार्यान्वयनमा सहजताका लागि सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूसँग सहकार्य गरिने। ​सुरक्षा निकाय अलर्टमा: उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूलाई विभिन्न जोखिमयुक्त स्थानमा तयारी अवस्थामा राखिएको। ​स्थानीय प्रशासनले नदी किनार तथा पहिरोको जोखिम क्षेत्रमा बस्ने नागरिकलाई पूर्वसूचनाप्रति सजग रहन र अत्यावश्यक कामबाहेक जोखिमयुक्त बाटोमा यात्रा नगर्न अपिल गरेको छ।