Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

आज विजयादशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी हर्षोल्लासका साथ मनाइँदै छ। आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान १० बजेर २६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको छ। यद्यपि विजयादशमी आफैंमा शुभ दिन भएकाले सर्वसाधारणले टीका ग्रहण गर्न छुट्टै साइत पर्खनु आवश्यक नरहेको समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईका अनुसार राज्य सञ्चालकका लागि भने शुभ साइतमा टीका लगाउने परम्परा छ। शास्त्रीय मान्यताअनुसार शुभ साइतमा टीका ग्रहण गर्दा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने विश्वासका आधारमा साइत निर्धारण गरिएको उनले बताए। विजयादशमीका अवसरमा दसैँघर वा पूजा कोठामा नौ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएका देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गरिन्छ। घटस्थापनाका दिन स्थापना गरिएको कलशको जलबाट अभिषेक गरी मान्यजनको हातबाट टीका लगाउने धार्मिक परम्परा छ। समितिका अनुसार घटस्थापनाका दिन जमरा राखिएको स्थानमा आह्वान गरिएका देवीको विसर्जन गर्ने उत्तम साइत आज बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ। आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सक्नेछन्। यसरी विजयादशमीले पारिवारिक भेटघाट, आपसी सद्भाव र आशीर्वाद आदानप्रदानको परम्परालाई निरन्तरता दिँदै आएको छ।