बूढीगण्डकी बाढी प्रभावितको उद्धारमा सेना र हेलिकप्टर परिचालन, जगतबाट ६ जनाको हवाई उद्धार
काठमाडौं। बूढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका नागरिकको उद्धार र सुरक्षित स्थानान्तरणका लागि सरकारले हेलिकप्टरसहित सुरक्षा निकाय परिचालन गरेको छ। प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताउनु भएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली सेनाको टोलीलाई हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दुनुभेको हो । प्रधानमन्त्री शाहका अनुसार गोरखाको जगत क्षेत्रमा पहिरोको जोखिममा रहेका ६ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको नेपाली सेनाको कम्पोजिट क्विक रेस्पोन्स टिमलाई समेत हवाई साधनबाट प्रभावित क्षेत्रमा खटाइएको छ। बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्नुका साथै प्रभावित क्षेत्रमा राहत पुर्याउने कामलाई प्राथमिकता दिइएको प्रधानमन्त्री शाहले बताउनु भएको छ । यसैबीच, बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग आवश्यक परे सम्बन्धित निकायमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ। आपत्कालीन सम्पर्क नम्बरहरू: • एम्बुलेन्स: १०२ • जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी): १२३४ • जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६११९० • सहायक प्रमुख जिल्ला अधिकारी: ९८५६०५७७७८
