बाढीपहिरोले क्षति पु-याएको बेनी–जोमसोम सडक मर्मत सुरु
म्याग्दी, १५ असोजः पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत थालिएको छ । बेनी–जोमसोम कोरला सडक योजनाले जोमसोम र बेनीतर्फबाट सडक मर्मत थालेको हो । आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्म सडक मर्मत भइसकेको जानकारी दिनुभयो । “कालीगण्डकी नदीको कटान, बाढी र पहिरोले २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको ४६ ठाउँमा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्म र जोमसोमदेखि दाना हुँदै नागढुङ्गासम्म मर्मत भई यातायातका साधन सञ्चालन हुन थालेका छन् ।” रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डको सडक मर्मतका लागि स्थानीयस्तरमा उपलब्ध सडक विभाग, जलविद्युत आयोजना र निर्माण व्यवसायीको उपकरण र मजदुर परिचालन गरिएको छ । असोज ११ गते कालीगण्डकी बाढीले पोखरेबगरमा बगाएको सडक पुलको पहुँचमार्ग मर्मत कार्य पनि आजदेखि सुरु गरिने आयोजना प्रमुख शर्माले बताउनुभयो । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा रसुवा र तातोपानी नाकाको विकल्पका रुपमा चीनसँगको व्यापारिक नाका कोरलासँगको यातायात सम्पर्क टुटेको छ । कोरला नाकामा सामान लिन गएका सयौँ कन्टेनर मुस्ताङमै रोकिएका छन् । मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकासँग यातायात सम्पर्कबिच्छेद भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, आलु बजार पठाउन सकिएको छैन । दसैँका लागि भेडाच्याङ्ग्रा बजारमा बिक्रीका लागि लैजान समस्या भएको छ । पर्यटकीय गतिविधि ठप्प बनेको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउन, जटिल प्रकृतिका बिरामीलाई अस्पताल पुग्न हेलिकप्टरको साहरा लिनुपरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । कटिङ, फिलिङ, डाइभर्सन, नयाँ मार्ग खोल्ने विकल्प अपनाएर सडक खुलाउने प्रयास गरिएको छ । तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा सडक खुलाउन चुनौती देखिएको छ । यसअघि सडक भएको ठाउँमा कालीगण्डकीले कटान गरेर आयोजनाको स्वीचयार्ड नजिकैबाट नदी बगेको छ । सडक खुलाउनका लागि स्वीचयार्डका प्रयोगमा नरहेका वैकल्पिक रुपमा रहेका दुई वटा टावर हटाउनुपर्ने भएको छ । टावर हटाउनका लागि राहुघाटको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावरको सञ्चालक नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । सडक मर्मतका लागि इन्धन आपूर्तिलाई पनि सहज बनाउने प्रयास गरिएको उहाँले बताउनुभयो ।
