कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने
बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक विभागले नयाँ ट्रयाक निर्माण तथा सडक पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढाउँदै निर्माणाधीन सडकमा सवारीसाधन सञ्चालनको परीक्षण गरेको छ। परीक्षणका क्रममा काठमाडौंबाट चितवनतर्फ ग्यास बुलेटसहित करिब २० वटा तथा चितवनबाट काठमाडौंतर्फ भारीसहित केही हलुका सवारीसाधन सफलतापूर्वक पार गराइएको छ। सडक स्तरोन्नति र सुरक्षाका बाँकी काम पूरा गरी असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने विभागको लक्ष्य छ। त्यसअघि भने कृष्णभीर खण्डमा यातायात पूर्ण रूपमा बन्द रहने विभागले जनाएको छ।
