भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन विपद् प्राधिकरणको आग्रह
काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सोमबार जारी गरेको ‘सतर्कताका लागि अनुरोध’ अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनमा असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको उल्लेख छ। त्यस्तै कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनसक्ने प्राधिकरणले जनाएको छ। उक्त अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। मौसम प्रणालीका कारण उत्तरतर्फ अनुमानित सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र (Low Pressure Area) हाल बङ्गालको खाडीको मध्य–भाग आसपासमा रहेको तथा सो प्रणाली थप शक्तिशाली बन्दै Deep Depression (गहिरो न्यून चापीय क्षेत्र) मा परिणत भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको विभागको पूर्वानुमान छ। यसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। प्राधिकरणले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित निकाय तथा सर्वसाधारणलाई पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका मुख्य अनुरोध उक्त अवधिमा अत्यावश्यक नभई लामो दूरीको यात्रा नगर्न आग्रह। संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीनै तहका सुरक्षा निकाय र स्वयंसेवकलगायत सरोकारवाला निकायलाई सर्वसाधारणलाई सूचित गरी प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न आग्रह। जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकले पूर्वसूचना/चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न अनुरोध। आकस्मिक बाढी आउनसक्ने खोला, खहरे तथा आसपासका बस्ती र पहिरोको जोखिमयुक्त स्थानमा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह। विपद् तथा बाढीसम्बन्धी जानकारीका लागि राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको ११४९, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न सकिने जनाएको छ। नेपाल मौसम विज्ञान विभाग तथा प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान, पूर्वसूचना र चेतावनीसम्बन्धी जानकारी नियमित रूपमा हेर्न आग्रह गरिएको छ। प्राधिकरणले वर्षाका कारण सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित सबै निकायलाई पूर्वतयारी तथा प्रतिकार्य व्यवस्थापनमा सक्रिय रहन अनुरोध गरेको छ।
