Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा र हिमपात, प्रभाव शनिबार अपराह्नसम्म रहने

काठमाडौँ, १३ कात्तिक — बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ (Cyclone Arnab) को प्रभावका कारण गएरातिदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू-भागमा वर्षा तथा हिमपात भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभाव आगामी शनिबार (कार्तिक १४ गते) अपराह्नसम्म कायम रहने सम्भावना रहेको छ। ​पछिल्लो २४ घण्टाको मौसम विवरणअनुसार कोसी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा रेकर्ड गरिएको छ। हाल देशभर साधारणतया बदली भई अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ। ​चक्रवातको यो प्रभाव आगामी पाँच दिनसम्म कस्तो रहन्छ भन्ने, मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा आधारित विस्तृत विवरण यसप्रकार छ: ​आगामी ५ दिनको मौसम पूर्वानुमान ​आज शुक्रबार (कार्तिक १३ गते) ​दिउँसो: देशभर अधिकांश बादली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका अधिकांश र बाँकी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सक्ने अनुमान गरिएको छ। साथै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको समेत सम्भावना छ। ​राति: देशभर अधिकांश बादली रहनेछ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहँदा थोरै स्थानमा भारी वर्षा वा हिमपात हुनसक्नेछ। ​शनिबार, कार्तिक १४ गते ​दिउँसो: कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादली रहनेछ भने सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली हुनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ। कोशीदेखि गण्डकीसम्मका थोरै स्थानमा र अन्य प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्नेछ। ​राति: देशभर साधारणतया बदली रहनेछ। हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ भने तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्नेछ। ​आइतबार, कार्तिक १५ गते ​दिउँसो र राति: देशभर आंशिक बादली रहनेछ। हिमाली र पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। रातिको समयमा तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ। ​सोमबार, कार्तिक १६ गते ​देशभर आंशिक बादली रहनेछ। हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। ​मंगलबार, कार्तिक १७ गते ​मौसममा क्रमिक सुधार आउने देखिए तापनि देशभर आंशिक बादली रहनेछ। हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ भने तराईका भू-भाग, उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु/कुहिरो लाग्नेछ। ​मौसम पूर्वानुमान महाशाखाको विशेष अपिल तथा सर्तकता ​चक्रवात ‘अर्नब’को प्रभावले शनिबार अपराह्नसम्मै देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। ​भारी वर्षा र हिमपातका कारण दैनिक जनजीवन, यातायात, पर्वतारोहण तथा उडान सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अध्यावधिक सूचनाहरूको पालना गर्न सर्वसाधारण तथा सम्बन्धित सबैमा आग्रह गरिएको छ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा र हिमपात, प्रभाव शनिबार अपराह्नसम्म रहने