Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रधानमन्त्रीले घोषणा गर्नुभएको मितिभित्रै कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संघीय संसद्मा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । प्रधानमन्त्रीज्यूले रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा यही भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताउनुभएको थियो । प्रधानमन्त्रीज्यूको सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ । यसका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल निरन्तर खटिरहनुभएको छ । यही भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पुर्‍याएको थियो भने भदौ १४ गते आएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्लिकल सोसाइटीका प्राविधिकहरुको सहयोगमा ४ दिनसम्म द्रुत अध्ययन गरेको थियो । विज्ञहरुले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रुपमा सुझाव दिनुभएको थियो । विज्ञहरुबाट प्राप्त सुझावका अनुसार यही भदौ १९ गतेदेखि रुख कटान सुरु गरिएको थियो । त्यसपछि ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर ट्रयाक निर्माण गरिएको हो । यस काममा प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहनुभएको छ । फलस्वरुप काम सुरु भएको १०औँ दिन अर्थात भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारी साधन सञ्चालन भइसकेको छ । त्यसयता बिहान र बेलुका अत्यावश्यक यातायात आवतजावत भइरहेको छ । हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । भोलिसम्म ग्राभेलको काम पूरा हुनेछ भने असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ ।