Live Update

Nepal Police

प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी शिक्षालय भरतपुरमा बुधबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१८०औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८०औं समूहका प्रशिक्षार्थीहरूद्वारा तयार पारिएको “ASI Basic 2-180th Batch : A MEMOIR” पुस्तक समेत विमोचन गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले शारीरिक र मानसिक रूपमा कठिन यस आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएकोमा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई दिँदै आगामी व्यावसायिक जिवनको शुभकामना समेत व्यक्त गर्नुभयो । आधारभूत तालिम कुनै पनि प्रहरी अधिकृतको समग्र सेवाकालको प्रमुख आधारस्तम्भ भएको चर्चा गर्दै तालिमका दौरानमा सिकेका व्यावसायिक सीपले कार्यक्षेत्रमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिमा पनि सही निर्णय लिन सक्षम बनाउने बताउनुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले व्यक्ति भन्दा माथि सधै संगठन रहने मूल मन्त्रलाई आत्मसात् गर्दै जस्तोसुकै परिस्थितिमा पनि व्यक्तिगत स्वार्थ, लोभ र पूर्वाग्रह भन्दा माथि उठेर संगठनको साख, मर्यादा र राष्ट्रहितलाई सदैव सर्वोपरि मानी प्रभावकारी रूपमा कार्यसम्पादन गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । उक्त कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद मन्तव्य समेत व्यक्त गर्नुभएको थियो । तालिम संयोजक प्रहरी नायव उपरीक्षक लोक बहादुर जिसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८२ भदौ २२ गतेदेखि संचालित उक्त तालिममा ४३ जना महिला सहित कुल ३ सय १० जना प्रशिक्षार्थीहरू दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो । समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, प्रदेशस्थित सुरक्षा निकायका पदाधिकारीहरू विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, प्रशिक्षार्थीहरूका अभिभावक तथा परिवारजनहरू, समाजसेवी, संचारकर्मीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन