Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

टेलिफोन सुविधाको पहुँचबाट वञ्चित हुने अवस्था अन्त्य हुन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ, : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिने सरकारको प्रतिबद्धता रहेको बताउनु भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका बस्ती तथा जुगल हिमाल र आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको माग गर्दै मन्त्रालयमा पुगेका जनप्रतिनिधि तथा स्थानीयसँगको छलफलमा उहाँले मानव बस्ती भएका सबै स्थानमा दूरसञ्चार सेवा पु¥याउन सरकारले काम गरिरहेको बताउनुभयो । छलफलमा काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य प्रदीप विष्ट, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा जुगलका स्थानीय युवाको सहभागिता थियो । सोक्रममा सांसद विष्टले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर प्रभावकारी नभएको गुनासो आइरहेको उल्लेख गर्दै दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न आग्रह गर्नुभयो । जवाफमा सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको बताउँदै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगसँगै नयाँ पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत परिचालन गरी देशभर सञ्चार सेवा विस्तारको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप एक हजार ६०० टेलिफोन टावर निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । करिब रु १२ अर्ब बराबरको ठेक्का प्रक्रिया अघि बढिसकेको र निर्धारित समयभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले टावर निर्माणमा बजेट अभावभन्दा पनि प्रक्रियागत जटिलता र निर्धारित समयमा काम सम्पन्न गर्न नसक्ने समस्या चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो । साथै, नागरिकका गुनासो सम्बोधनलाई प्राथमिकतामा राख्न पनि मन्त्रालय र मातहतका निकायलाई उहाँले निर्देशन दिनुभयो । “जहाँबाट गुनासो आएको छ, त्यहाँ तत्काल समस्या समाधान हुनुप¥यो । टावर थप्ने, क्षमता बढाउनेलगायत जे काम गरेर समस्या समाधान हुन्छ, तत्काल गर्नुहोला,” उहाँले नेपाल टेलिकमलाई निर्देशन दिँदै भन्नुभयो । विद्युत् सुविधा नपुगेका स्थानमा उच्च क्षमताका सौर्य ऊर्जा प्रणाली र ब्याट्रीको व्यवस्था गरी टावर सञ्चालन गर्न पनि उहाँले निर्देशन दिनुभयो । सञ्चालनमा रहेका टावरले पूर्ण क्षमतामा सेवा दिइरहेका छन् वा छैनन् भन्ने विषयमा नियमित निरीक्षण गर्न र समस्या देखिएका स्थानमा तत्काल क्षमता वृद्धि गर्नुपर्ने पनि सञ्चारमन्त्री तिमिल्सिनाको भनाई थियो । सो छलफलका क्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीले जुगल गाउँपालिकामा तत्काल प्राविधिक टोली पठाएर सञ्चार सेवाको अवस्थाबारे स्थलगत अध्ययन गरिने बताउनुभयो । प्राविधिक समस्या पहिचान गरी आवश्यक सुधारका काम अघि बढाइने उहाँको भनाइ थियो । टावर निर्माण तथा सेवा विस्तारमा स्थानीय तहबाट समेत सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो । स्थानीय युवाहरूले जुगल हिमाल, जुगल भ्यु पोइन्ट तथा आधार शिविर क्षेत्रमा मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तार गर्न माग गरेका छन् । साथै गाउँपालिकाका विभिन्न बस्तीमा गुणस्तरीय फोरजी सेवा सुनिश्चित गर्न उनीहरूले आग्रह गरेका छन् । गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको सन्दर्भमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गए पनि सञ्चार सुविधाको अभाव चुनौती बनेको स्थानीय युवाहरूले बताएका छन् । उनीहरूले मेलम्ची डाँडामा रहेको टेलिफोन टावरको प्राविधिक क्षमता वृद्धि तथा मर्मत गरी गुणस्तरीय फोरजी सेवा सञ्चालन गर्न र पाङ्ग्रेप डाँडामा रहेको टावर मर्मत गरी पुनः सञ्चालनमा ल्याउन माग गरेका छन् । त्यस्तै, समुद्री सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा रहेको जुगल भ्यु पोइन्ट तथा आधार शिविरसम्म मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तार गर्न उपयुक्त स्थानमा नयाँ टावर स्थापना गर्नुपर्ने उनीहरूको माग छ । बोल्दे, गुम्बा, क्याङसिङ, अम्बाखर्क, तेम्बाथान र दिप्पुङलगायत बस्तीमा भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा सुनिश्चित गर्नसमेत स्थानीय युवाहरूले सरकारको ध्यानाकर्षण गराएका छन्

टेलिफोन सुविधाको पहुँचबाट वञ्चित हुने अवस्था अन्त्य हुन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना