हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, अन्यत्र मौसम मुख्यतया सफा
काठमाडौँ, हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहे पनि केही पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार बिहान देशका हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने तराई भूभागका थोरै स्थानमा हुस्सु र तुवाँलो लागेको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशको हिमाली क्षेत्रका साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ । आज दिउँसो देशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार भोलि सोमबार देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ । तराईका केही स्थानमा बिहानपख लाग्न सक्ने हुस्सु तथा तुवाँलो र हिमाली क्षेत्रमा हुन सक्ने हल्का हिमपातलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
