Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघीय ८१औँ महासभाका अध्यक्ष डा. रहमानबीच भेटवार्ता, जलवायु विपदबारे छलफल

न्युयोर्क। परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानबीच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा अध्यक्ष डा. रहमानसँग भेटवार्ता गर्नुभयो । भेटका क्रममा मन्त्री खनालले डा. रहमानलाई महासभाको अध्यक्ष पद सम्हालेकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। सो अवसरमा उहाँले राष्ट्रसंघका साझा लक्ष्यहरू हासिल गर्न नेपालका तर्फबाट पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता समेत जनाउनुभयो। वार्ताका क्रममा महासभाका अध्यक्षका भावी प्राथमिकतासहित विश्वव्यापी चासोका विविध विषयमा गहन छलफल भएको थियो। दुवै पक्षबीच संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राख्दै बहुपक्षीयतालाई थप सुदृढ, समावेशी र प्रभावकारी बनाउनुपर्ने महत्त्वमा विशेष जोड दिइएको छ। यसैगरी, भेटमा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद् र त्यसले पुर्‍याएको ठूलो भौतिक तथा सामाजिक क्षतिबारे समेत चर्चा गरिएको थियो। परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालजस्ता विकासोन्मुख देशहरूका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रसंघको भूमिका र सहयोग अपरिहार्य रहेको विषयमा जोड दिनुभयो।