विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६
“एक स्वास्थ्य, एक कार्य: अहिले नै प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ।” (One Health, One Action: Prevent AMR Now) विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा कृषि, पशुपन्छी विकास र वातावरणसम्बद्ध निकायहरूको संयुक्त प्रतिबद्धतामा प्रतिजैविक प्रतिरोध (AMR) को रोकथाम तथा नियन्त्रणका लागि एक स्वास्थ्य (One Health) अवधारणामा आधारित समन्वित, बहुक्षेत्रीय र प्रभावकारी प्रयासको आवश्यकता औँल्याइएको छ। यसै अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ज्यूको समुपस्थितिमा प्रतिजैविक प्रतिरोध रोकथाम तथा नियन्त्रणसम्बन्धी विषयकेन्द्रित औपचारिक कार्यक्रम सम्पन्न भएको छ। मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य प्रणाली तथा वातावरणमा प्रतिजैविक औषधिको जथाभावी प्रयोगलाई निरुत्साहित गर्दै यसको विवेकपूर्ण तथा जिम्मेवार प्रयोग, प्रमाणमा आधारित अभ्यास, निगरानी र अनुसन्धानलाई सुदृढ गर्नु आजको आवश्यकता हो। यसै सन्दर्भमा नेपालका अस्पतालहरूमा प्रतिजैविक औषधिको प्रयोगसम्बन्धी सर्वेक्षण (Point Prevalence Survey -PPS) को प्रोटोकलसमेत सार्वजनिक गरिएको छ। प्रतिजैविक औषधिको प्रभावकारिता जोगाउँदै मानव, पशु तथा वातावरणीय स्वास्थ्यको संरक्षण गर्न सरकार, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, विकास साझेदार, सरोकारवाला निकाय तथा आम नागरिक सबैको साझा प्रयास, सहकार्य र प्रतिबद्धता अपरिहार्य छ। प्रतिजैविक प्रतिरोध रोकथाममा आजको जिम्मेवार कदम, भोलिको स्वस्थ पुस्ताको आधार हो। #WorldAMRAwarenessWeek2026 #WAAW2026 #AMR #OneHealth #PreventAMRNow
