Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

आकाशे पुल निर्माणका लागि पृथ्वी राजमार्गको मझिमटार खण्ड आज २ घण्टा पूर्ण रूपमा बन्द हुने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटार (पृथ्वी राजमार्ग) खण्डमा आज मंगलबार पनि २ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। सडक स्तरोन्नति तथा निर्माणाधीन आकाशे पुलको बाँकी काम सम्पन्न गर्नका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म दुवै तर्फको यातायात रोकिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। यसअघि सोमबार पनि सोही स्थानमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म ३ घण्टा सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो। तर, सोमबार तोकिएको समयभित्र आकाशे पुल निर्माणको कार्य सम्पन्न हुन नसकेपछि आज पुनः सडक बन्द गरेर कामलाई निरन्तरता दिनुपरेको प्रशासनको भनाइ छ। काम चल्ने निश्चित समय (बिहान ९ देखि ११ बजे) सम्मका लागि राजमार्ग भएर आउजाउ गर्ने सम्पूर्ण सवारी साधनहरूलाई सुरक्षित स्थानमा रोकेर सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालयले सवारी चालक, यात्रु तथा सर्वसाधारणमा अनुरोध गरेको छ। अत्यावश्यक बाहेकका सवारी साधनहरूलाई सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न वा समय व्यवस्थापन गरेर मात्र यात्रा तय गर्न समेत सूचित गरिएको छ।