डिजिटल अधिकार र डेटा सुरक्षाबारे कानून मन्त्रालयमा युवाहरूसँग अन्तरक्रिया
२०८३ असोज २० (2026 October 6) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज Youth Advocates for Digital Rights Cohort 2026 का सहभागीहरूसँग डिजिटल अधिकार, डेटा सुरक्षा, साइबर सुरक्षा, कृत्रिम बौद्धिकता (AI), डिजिटल समावेशिता तथा कानून निर्माणमा युवाको सहभागिता लगायतका विषयमा अन्तरक्रिया सम्पन्न भयो। कार्यक्रममा सहभागीहरूले नेपालको डिजिटल डेटा नीति, डिजिटल अधिकार तथा मानव अधिकारसँगको अन्तर सम्बन्ध लगायतका विषयमा प्रस्तुतीकरण गर्दै डेटा संरक्षणका लागि छुट्टै कानूनको आवश्यकता, स्वतन्त्र नियामक निकायको व्यवस्था, गोपनीयता तथा साइबर सुरक्षाको सुनिश्चितता, इन्टरनेटमा पहुँचको विस्तार र डिजिटल प्लेटफर्महरूको जवाफदेहिता लगायतका विषयमा सुझावहरू प्रस्तुत गर्नुभयो। छलफलका क्रममा कानून निर्माणको प्रक्रिया, डिजिटल प्रविधि सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र कानून निर्माणमा युवाको अर्थपूर्ण सहभागिताका विषयमा विचार विमर्श तथा अनुभव आदान प्रदान समेत भयो।
