Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

सिन्धुपाल्चोकमा भारी वर्षा, बाढी प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बुधबार राति ९ बजेसम्मको विवरणअनुसार पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको दुवाचौरमा ५५.४ मिलिमिटर वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले उक्त वर्षालाई भारी वर्षाका रूपमा वर्गीकरण गरेको छ। महाशाखाका अनुसार हाल कोसी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा मधेस र लुम्बिनीका केही स्थानमा वर्षा भइरहेको छ। बाढी प्रभावित जिल्लासहित आसपासका क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज राति कोसी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। बागमतीका हिमाली–पहाडी भूभाग तथा कोसी र गण्डकीका केही पहाडी क्षेत्रसहित तराईका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। महाशाखाका अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम हल्का, १०–५० मिलिमिटर मध्यम, ५०–१०० मिलिमिटर भारी, १००–२०० मिलिमिटर धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा भनिन्छ।