राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना तथा योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सम्बन्धमा छलफल
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। छलफलमा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यू र माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीज्यूको उपस्थिति रहेको थियो। साथै, प्रधानमन्त्रीज्यूका स्वास्थ्य सल्लाहकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिहरू तथा स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा हाल छुट्टाछुट्टै संरचनामा सञ्चालन भइरहेका कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल गरिएको छ। तीनवटै निकायलाई एकीकृत गर्न विद्यमान ऐनहरूमा आवश्यक संशोधन गरी आपसमा आबद्ध गर्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने दुईवटा सम्भावित कानुनी विकल्पमाथि समेत विचार–विमर्श गरिएको छ।
