Live Update

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट

विपद् प्रभावित क्षेत्रमा मानवीय सहायता तथा विपद् प्रतिकार्यसम्बन्धी काम गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका १४९ वटा नयाँ परियोजना स्वीकृत भएका छन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका अनुसार भदौ १५ देखि ३० गतेसम्म १४६ वटा संस्थाका १४९ नयाँ परियोजना स्वीकृत भएका हुन्। ती परियोजनाको कुल बजेट रु. १ अर्ब २७ करोड ७९ लाख ५७ हजार ५१७ रहेको छ। यस अवधिमा थप दुई संस्थाका परियोजना संशोधन गरिएको छ। नयाँ परियोजना तथा संशोधनसमेत गरी विपद् प्रभावित क्षेत्रमा सञ्चालन हुने परियोजनाको कुल बजेट रु. १ अर्ब २८ करोड ७ लाख ५२ हजार २६७ पुगेको मन्त्रालयले जनाएको छ। विपद् प्रभावित क्षेत्रमा प्रतिकार्यसम्बन्धी कामका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई छोटो प्रक्रियाबाट सम्झौता गर्न सकिने व्यवस्था गरिएको छ। सोही निर्णयअनुसार असोज १५ गतेसम्म समाज कल्याण परिषद्बाटै परियोजना सम्झौता गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयको दैनिक कार्य अपडेटमा उल्लेख छ। यसैबीच, हालसम्म ५९ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले रु. ४२ करोड २८ लाख ८२ हजार ६३६ बराबरको राहत सामग्री सहयोग गरेका छन्। ती संस्थाबाट रु. ४ करोड ६२ लाख १६ हजार २३६ नगद प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ। त्यस्तै, ४३ वटा राष्ट्रिय गैरसरकारी संस्थाले रु. २० करोड ४८ लाख ८६ हजार ०६३ बराबरको सहयोग गरेका छन्। राष्ट्रिय गैरसरकारी संस्थाबाट थप रु. ४ करोड २१ लाख ८५ हजार ३७३ नगद प्रधानमन्त्री राहत कोषमा जम्मा भएको मन्त्रालयले जनाएको छ। यसैगरी, भोटेकोशी बाढी प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि निर्माण भइरहेको केन्द्रमा दुई स्थायी र एक अस्थायी शौचालय निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् भने टायल जडानको काम करिब ९० प्रतिशत पूरा भएको छ। केन्द्रमा एक बालक आमा र काकासहित आश्रयमा रहेका छन्। केन्द्रमा मनोसामाजिक परामर्शदाता, हेरचाहकर्ता र खाना पकाउने कर्मचारीको समेत व्यवस्थापन गरिएको छ। यसैगरी, रसुवाका दुई महिलालाई जटिल प्रसूति समस्या भएपछि हवाई उद्धार गरी काठमाडौँस्थित परोपकार प्रसूती अस्पताल, थापाथली ल्याइएको छ। कालिका गाउँपालिका–२ की ३२ वर्षीया लक्ष्मी थोक्रा र उत्तरगया गाउँपालिका–४ की ३६ वर्षीया रञ्जिता बुलुनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

संलग्न फाइलहरूMWCGSMSS Daily Update Sep 16.pdf२७७.५ KB
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट